काठमाडौं- सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारी तथा पदाधिकारीहरूको तलब र भत्ता अब प्रत्येक १५/१५ दिनमा (अर्धमासिक रूपमा) भुक्तानी गर्ने निर्णय गरेको छ।
महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र पठाउँदै यससम्बन्धी व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
अबदेखि हरेक महिनाको १५ दिन बितिसकेktan पछि र महिनाको अन्त्यमा गरी महिनामा दुई पटक तलब तथा भत्ताको निकासा र भुक्तानी हुनेछ।
अर्थ मन्त्रालयले गत वैशाखमै संघीय निकायका कर्मचारीहरूलाई अर्धमासिक रूपमा तलब दिने निर्णय गरेको थियो। सुरुमा यो अभ्यास अर्थ मन्त्रालयबाटै थालिएकोमा, आवश्यक प्रणालीको विकास गर्न केही समय लागेकाले चालु आर्थिक वर्षदेखि यसलाई सबै संघीय निकायमा विस्तार गरिएको हो।
महालेखा नियन्त्रक कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका संघीय निकायहरूबाट अर्धमासिक भुक्तानीका लागि निकासा माग भएमा सोही अनुरूपको व्यवस्था मिलाउन सबै कोलेनिकालाई निर्देशन दिएको छ।
प्रणालीगत तयारी पूरा भएसँगै अब संघीय तहका सबै कार्यालयमा यो नयाँ नियम औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।





