काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलास गठन गर्दा निश्चित मापदण्ड अपनाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ । बारले विशेष पत्रमार्फत वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न वा त्यसो गर्न नसकिए प्रधानन्यायाधीशबाहेक चार जना न्यायाधीश गोला प्रथाबाट छनोट गर्न माग गरेको हो ।
बारले आफ्ना सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीसँग छलफल गरेपछि संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको तजबिजी अधिकार देखिएको र यसले न्याय निरूपणको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने जनाएको छ । इजलास गठनमा एकरूपता र निश्चित मापदण्ड कायम गर्नुपर्ने बारको माग छ ।
बारले उक्त पत्र सर्वोच्च अदालतका सबै न्यायाधीशलाई बोधार्थसमेत पठाएको छ । साथै, संवैधानिक इजलास गठनसम्बन्धी विषयलाई सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) मा छलफल गर्न माग गरेको छ ।
कानुन व्यवसायी र न्यायाधीशहरू सम्मिलित बार–बेञ्च समितिको बैठक लामो समयदेखि बस्न नसकेकोप्रति पनि बारले आपत्ति जनाएको छ । तत्काल समिति बैठक बोलाएर न्यायालयमा देखिएका समस्या समाधान गर्न बारले ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी, प्रशासनिक प्रक्रियाबाट कतिपय मुद्दा सिधै संवैधानिक इजलासमा पठाउने गरिएको भन्दै बारले त्यसलाई रोक्न र निश्चित प्रक्रिया अपनाउनसमेत माग गरेको छ ।




