काठमाडौं । तीज नजिकिँदै गएसँगै सांगीतिक बजार पनि तीजमय बन्न थालेको छ । यही क्रममा सर्जक विशाल क्षेत्रीले मर्मस्पर्शी तीज गीत ‘आमा तिम्रो दुःख’ सार्वजनिक गरेका छन् । विशालकै शब्द तथा संगीत रहेको गीतले तीजको वास्तविक मर्मसँगै आमाको दुःख र पीडालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ ।
गीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका अन्जिता विश्वकर्माको सुमधुर स्वर सुन्न सकिन्छ । याम थापा मगरको संगीत संयोजन रहेको गीतका रेकर्डिस्ट रमेश खड्का हुन् । ओजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गरेका छन् ।
अडियोसँगै गीतको भिडियोले पनि कथावस्तुलाई थप प्रभावशाली बनाएको छ । दुर्गा पौडेलको परिकल्पना तथा निर्देशनमा तयार भएको भिडियोमा लोकप्रिय मोडल तथा अभिनेत्री रन्जिता गुरुङले अभिनय गरेकी छन् । अमेरिकालाई कर्मथलो बनाउँदै आएकी रन्जिता नेपाल फर्किएका बेला यस गीतमा अभिनय गरेकी हुन् ।
भिडियोमा रन्जितासँगै आमाको भूमिकामा रश्मि भट्ट देखिएकी छन् भने बालकलाकार सृष्टी खड्कीको पनि अभिनय रहेको छ । मिलन थापाले छायांकन गरेको भिडियोको सम्पादन दीपक विष्टले गरेका हुन् ।
जापानलाई कर्मथलो बनाएर नेपाली गीत–संगीतमा सक्रिय विशाल क्षेत्रीका तीन सयभन्दा बढी गीत सांगीतिक बजारमा आइसकेका छन् । उनका अधिकांश सिर्जनाले दर्शक–श्रोताको राम्रो साथ पाउँदै आएका छन् ।
सार्वजनिक भएदेखि नै ‘आमा तिम्रो दुःख’ ले चर्चा र सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गीत विशाल क्षेत्रीको आफ्नै युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।
भिडियो





