बिजुलीको महसुल घटाउने सरकारको तयारी, सिजनल ट्यारिफ ल्याउने गृहकार्य

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सरकारले बिजुलीको महसुल घटाउँदै उपभोक्ता र उद्योगलाई सहुलियत दिने तयारी तीव्र पारेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा उत्पादन हुने बढी विद्युत् आन्तरिक रूपमा खपत बढाउने उद्देश्यले महसुल पुनरावलोकनको गृहकार्य अघि बढाएको हो ।

यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ । ऊर्जा मन्त्रालयमा अपराह्न ४ बजे बस्ने बैठकमा विद्युत् महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ ।

समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ सदस्य छन् ।

संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढेर खेर जाने अवस्था रहेकाले आन्तरिक खपत बढाउन ‘सिजनल ट्यारिफ’ लागू गर्ने विषयमा छलफल भइरहेको छ । यसअन्तर्गत वर्षायाममा उपभोक्ता तथा उद्योगलाई सस्तो दरमा बिजुली उपलब्ध गराउने तयारी छ ।

उद्योगहरूलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउँदा उनीहरूको उत्पादन लागत घट्ने र त्यसको लाभ उपभोक्तासम्म पुर्‍याउन सकिने विषयमा समेत छलफल भइरहेको शाहीले बताए ।

‘सिजनल ट्यारिफ’ लागू गर्दा विद्युत् महसुल कसरी घटाउन सकिन्छ भन्ने विषयमा आजको बैठकमा विस्तृत छलफल हुने र छिट्टै निर्णयमा पुग्ने तयारी रहेको उनले जानकारी दिए ।

सरकारले विद्युत्मा कर बढाएको भन्दै आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले भने उपभोक्तालाई सहुलियत दिने उपाय खोज्दै महसुल पुनरावलोकनको प्रक्रिया अघि बढाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्