सिमरा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हत्यापछि बालिकाको खोजीमा प्रहरीसँगै घटनास्थल आसपासमा सक्रिय भएका युवकसमेत रहेको प्रहरीले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुमवासी बस्तीकी बालिका चौधरीको हत्या आरोपमा सोही उपमहानगरपालिका–२ का सुमन थापालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थापाले बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकार गरेका छन् । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ बारा प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा कुकुरले संकेत गरेपछि थापालाई घटनास्थलबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान भइरहेको जनाएको छ ।





