मन्त्रिपरिषद्का ११ निर्णय सार्वजनिक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्ले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीलाई संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कक्षा ९–१० मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र कक्षा ६–८ का शिक्षकको तलब निम्न माध्यमिक तृतीय श्रेणीसरह कायम गर्ने निर्णय भएको छ ।

बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै, नेपालमा एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको सब–सेन्टर स्थापना गर्न स्वीकृति दिइएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय पनि भएको छ ।

मन्त्रिपरिषद्ले भारतमा हुने सीमा व्यवस्थापनसम्बन्धी जोइन्ट वर्किङ ग्रुपको १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउन स्वीकृति दिएको छ ।

त्यसैगरी, नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिइएको छ ।

बैठकले ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३’ स्वीकृत गर्नुका साथै भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ र नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्न बनेका विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।

प्रशासनतर्फ सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्