पेटभर्वा नाम परिवर्तनमा उच्च अदालतको रोक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सञ्जय मिश्रा
रौतहट, ३ भदौ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित पेटभरवा गाउँको नाम परिवर्तन गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ।

गाउँको पुरानो नाम हटाएर ‘यदुबंशी नगर’ राख्ने विषयमा परेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश जारी गरेको हो।

अदालतको आदेशसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म पेटभरवाको विद्यमान अवस्था कायम रहने भएको छ। अर्थात् हालका लागि ‘यदुबंशी नगर’ नाम कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउन मिल्ने छैन।

रामनाथ राय यादवसमेतले जिल्ला प्रशासन कार्यालय रौतहट, गौरसमेतलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषण/परमादेशसम्बन्धी रिटमा उच्च अदालतको संयुक्त इजलास नम्बर ३ ले यस्तो आदेश दिएको हो।

न्यायाधीशद्वय रेखा थापा पाण्डे र अस्मिन कुमार राईको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विवादित विषयमा तत्काल निर्णय कार्यान्वयन गर्दा सम्बन्धित पक्ष तथा आम सेवाग्राहीलाई प्रत्यक्ष असर पर्न सक्ने अवस्था देखिएको भन्दै अन्तरिम संरक्षण प्रदान गरेको हो।
अदालतले रिट निवेदनको अन्तिम सुनुवाइ नभएसम्म विवादित विषयमा यथास्थिति कायम राख्न आदेश दिएको छ।

आदेशमा समान प्रकृतिको विषय सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको उल्लेख गर्दै सम्बन्धित संवैधानिक तथा कानुनी प्रश्नको निरुपण आवश्यक रहेको संकेत गरिएको छ।
अदालतको आदेशपछि पेटभरवा गाउँको नाम परिवर्तनसम्बन्धी प्रक्रिया तत्काल रोकिएको छ। अब अन्तिम फैसला नआएसम्म सरकारी कागजात तथा प्रशासनिक कामकारबाहीमा नयाँ नाम लागू गर्ने विषय अघि बढाउन नमिल्ने अवस्था बनेको छ।

यद्यपि, अदालतको यो आदेशलाई अन्तिम फैसला भने मान्न मिल्दैन। अदालतले अहिलेसम्म पेटभरवा नै कायम रहने वा ‘यदुबंशी नगर’ नाम स्वीकृत हुने भन्ने विषयमा अन्तिम निर्णय गरेको छैन। यो केवल मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म विवादित अवस्थालाई यथावत् राख्न दिइएको अन्तरिम आदेश हो।

अदालतले विपक्षीहरूलाई आदेशको जानकारी गराई नियमानुसार पेश गर्नसमेत निर्देशन दिएको छ।
यससँगै पेटभरवा गाउँको नाम परिवर्तनसम्बन्धी विवादले नयाँ कानुनी मोड लिएको छ। अन्तिम फैसला नआएसम्म पुरानै अवस्था कायम रहने भएपछि तत्कालका लागि पेटभरवा नाम नै व्यवहारमा रहने भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्