७ भदौ, काठमाडौं । अष्ट्रेलिया जाने योजना त्यागेर नेपालमै व्यवसाय सुरु गरेका किशोर जिसीले सञ्चालन गरेको ‘किड्स कटेज’ले आफ्नो छैटौँ शाखा काठमाडौँको बौद्ध महांकालमा विस्तार गरेको छ ।
कोभिड–१९ महामारीका कारण भएको लकडाउनका बेला अनलाइनबाट डाइपर बिक्री गर्दै सुरु भएको व्यवसाय अहिले बालबालिका तथा आमाका लागि आवश्यक सामग्री उपलब्ध गराउने स्थापित व्यवसायका रूपमा विस्तार भएको हो ।
किड्स कटेजले यसअघि गंगोबु, पोखरा, कुपन्डोल र कपनलगायतका स्थानमा शाखा सञ्चालनमा ल्याइसकेको छ । ग्राहकको बढ्दो माग र उपभोक्ताको विश्वासका कारण शाखा विस्तारलाई तीव्रता दिइएको सञ्चालक जिसीले बताए ।
जिसीका अनुसार किड्स कटेजमा गर्भावस्थादेखि बच्चा जन्मिएपछि आवश्यक पर्ने विभिन्न सामग्री उपलब्ध छन् । गर्भवती महिला तथा नवजात शिशुका लागि आवश्यक सामग्रीसँगै ५० हजारदेखि एक लाख रुपैयाँसम्म पर्ने सामग्रीसमेत एउटै स्थानमा उपलब्ध गराउने गरी व्यवसायको दायरा विस्तार गरिएको उनले बताए ।
‘आफूले भोगेको समस्या र आवश्यकताबाटै व्यवसायिक अवधारणाको विकास भएको हो,’ जिसीले भने, ‘त्यही अवधारणालाई आधार बनाएर तय गरिएको रोडम्यापअनुसार व्यवसायलाई क्रमशः विस्तार गर्दै अघि बढिरहेका छौँ।’
अष्ट्रेलिया जाने तयारीमा रहेका जिसीले अन्ततः नेपालमै केही गर्ने सोचका साथ व्यवसाय सुरु गरेका थिए । सुरुमा अनलाइनमार्फत सीमित उत्पादन बिक्री गर्ने योजनाबाट अघि बढेको किड्स कटेजले ग्राहकको प्रतिक्रिया र मागअनुसार आफ्नो उत्पादन तथा सेवा विस्तार गर्दै गएको उनको भनाइ छ ।
हाल किड्स कटेजले करिब ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । व्यवसायलाई थप विस्तार गर्दै आगामी दुई वर्षभित्र रोजगारीको संख्या पाँच सय पुर्याउने लक्ष्य लिइएको जिसीले बताए ।
‘अनलाइनबाट सुरु भएको सानो प्रयासलाई ग्राहकको माया, विश्वास र निरन्तरको मागले यहाँसम्म ल्याएको हो,’ उनले भने, ‘आगामी दिनमा नेपालका थप शहर तथा स्थानमा शाखा विस्तार गरी सेवा पुर्याउने योजना छ।’
स्थानीय बजारको आवश्यकता पहिचान गर्दै सुरु गरिएको किड्स कटेजको विस्तारले नेपालमै उद्यम गरेर रोजगारी सिर्जना गर्न सकिने सम्भावनालाई समेत देखाएको छ । व्यवसाय विस्तारसँगै आमाबाबु तथा नवजात शिशुका लागि आवश्यक सामग्री एउटै ठाउँबाट उपलब्ध गराउने अवधारणालाई थप प्रभावकारी बनाउने लक्ष्य कम्पनीले लिएको छ ।





