बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ की बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले अर्का एक बालकलाई पक्राउ गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए।
पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसअघि पक्राउ परेका सुमन थापाले बयानका क्रममा खड्काको समेत संलग्नता रहेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
खड्काको पक्राउसँगै गरिमा हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ। गरिमाका परिवारले दिएको पूरक जाहेरीपछि प्रहरीले शनिबार थप ५ जनालाई पक्राउ गरेको थियो।
गरिमाको शव भेटिएपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा थप व्यक्तिहरू पक्राउ परेका हुन्। पक्राउ परेका अन्य व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।





