बागलुङ । बागलुङमा डेङ्गु सङ्क्रमण फैलिएको छ । पछिल्लो दुई महिनामा जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाका सबै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउन र असार महिनाको तथ्याङ्कअनुसार बागलुङ नगरपालिकामा मात्रै ४५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै, गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा ४५, जैमिनी नगरपालिकामा २७, ढोरपाटन नगरपालिकामा १७, ताराखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा तीन, निसीखोला गाउँपालिकामा सात, तमानखोला गाउँपालिकामा दुई र बरेङ गाउँपालिकामा दुई जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । अन्य जिल्लाबाट उपचारका लागि बागलुङ आएका ३८ जनामा डेङ्गु देखिएको छ ।
बागलुङ सदरमुकाममा दैनिक २० देखि ३० जनासम्म डेङ्गुका बिरामी देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनामा मात्रै बागलुङ बजारमा १८२ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।
पानी निरन्तर परेसँगै डेङ्गु फैलाउने लामखुट्टेको सङ्ख्या बढेकाले सङ्क्रमितको सङ्ख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार डेङ्गु बढेपछि वडा तहमा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको छ । लामखुट्टेको वासस्थान खोजेर नष्ट गर्ने अभियान हरेक शुक्रबार सञ्चालन भइरहेको छ । लामखुट्टेको लार्भा र वासस्थान हुने ग्यारेज, टायर, फूलदानीलगायत स्थानमा निगरानी बढाइएको छ ।
डेङ्गु सङ्क्रमण बढेपछि धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिबाङ र गलकोट अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको प्रदेश जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराएका बिरामीको मात्र तथ्याङ्क सङ्कलन गरिएको उहाँले बताउनुभयो । निजी स्वास्थ्य संस्था र मेडिकलमा डेङ्गु परीक्षण भइरहेकाले वास्तविक सङ्क्रमितको सङ्ख्या अझ बढी हुनसक्ने अनुमान गरिएको छ ।
डेङ्गु फैलाउने लामखुट्टेको सम्भावित वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने तथा पानी जम्न नदिने अभियानलाई तीव्रता दिइएको छ । समुदायमा सरसफाइ र लामखुट्टेको वासस्थान नष्ट गर्ने विषयमा जनचेतना फैलाउने कामसमेत भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।





