रसुवा । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो।
‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु। के–कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन। बुझ्ने प्रयास भइरहेको छ,’ उनले बताए।
भोटेकोशी नदीमा अचानक बाढी आएपछि क्षतिको विवरण संकलन तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको प्रशासनले जनाएको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा नदी किनारमा नजान प्रशासनले आग्रह गरेको छ।





