काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै अगाडि बढेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते बिहान १०ः२८ बजे जारी गरेको अपडेटअनुसार भोटेकोसीको बाढी धादिङको गल्छी आसपास पुगिसकेको छ। उक्त बाढी अबको केही घण्टामा मुग्लिन क्षेत्र पार गर्ने अनुमान गरिएको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ।
महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
‘त्रिशूली नदी छेउछाउका बस्ती र बजार क्षेत्र खाली गरी उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहनुहोस्,’ महाशाखाले आग्रह गरेको छ।
बाढीको बहाव थप बढ्न सक्ने भएकाले नदी किनारमा रहेका सर्वसाधारणलाई नदीको अवस्था हेर्न वा आवतजावत गर्न नजान तथा सम्भावित जोखिमबाट जोगिन प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।





