रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा उच्चस्तरीय बैठक आह्वान, उद्धारका लागि थप जनशक्ति परिचालन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत तथा आगामी कदमबारे निर्णय गर्न प्रधानमन्त्री बालेन शाहले उच्चस्तरीय बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत रसुवाको प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रमा पठाइसकिएको उनले बताएका छन्।

उनका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ। मेडिकल टिम, नेपाल स्काउट, रेडक्रस लगायतका सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाउने तयारी गरिएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको उनले बताएका छन्।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। स्थानीय बासिन्दालाई एसएमएस तथा फोनमार्फत सुरक्षित स्थानमा जान सचेत गराइएको समेत उनले बताएका छन्।

सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। निजी हेलिकप्टर कम्पनीलाई समेत आफ्ना हेलिकप्टर तयारी अवस्थामा राख्न भनिएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रधानमन्त्री शाहले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सरकारी निकायबाट आउने उद्धारसम्बन्धी आधिकारिक सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्।

उनका अनुसार थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी