काठमाडौं । रसुवामा बुधबार आएको भीषण बाढीले नेपाल विद्युत् प्राधिकरणका विभिन्न विद्युत् गृह तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न वितरण संरचनासमेत प्रभावित भएका छन्।
विद्युत् उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। आपूर्ति नियमित गर्न प्राधिकरणले आवश्यक काम गरिरहेको भन्दै विद्युत् सेवा पूर्ण रूपमा सुचारु नभएसम्म उपभोक्तालाई धैर्य गर्न आग्रह गरेको छ।
बाढीले विद्युत् संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ।
बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै, आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न प्राधिकरणले आग्रह गरेको छ।
पछिल्लो बाढीबाट जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा पुनः क्षति पुगेपछि विद्युत् उत्पादनदेखि प्रसारण र वितरणसम्मको प्रणालीमा थप दबाब पर्न सक्ने देखिएको छ।





