काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले तटीय क्षेत्रको जनधनमा क्षति पुर्याउनुका साथै प्रसिद्ध गोसाईंकुण्ड भ्रमण तथा स्नानका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकलाई समेत प्रभावित बनाएको छ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार बुधबार मात्रै ठूलो संख्यामा तीर्थयात्री तथा पदयात्रीहरू गाडी रिजर्भ गरेर गोसाईंकुण्डतर्फ गएका थिए।
जनैपूर्णिमाका अवसरमा गोसाईंकुण्डमा विशेष मेला लाग्ने भएकाले यस समयमा धार्मिक पर्यटकको चाप बढ्ने गरेको छ। यस वर्षको जनैपूर्णिमा भदौ १२ गते परेकाले धेरै तीर्थयात्रीहरू मेला भर्न केही दिनअघि नै गोसाईंकुण्डतर्फ प्रस्थान गरेका थिए।
बाढी आएपछि गोसाईंकुण्डतर्फ गएका आफ्ना परिवार तथा आफन्तसँग सम्पर्क गर्न खोज्दा केही सम्पर्कमा आए पनि धेरैको फोन सम्पर्क हुन नसकेको भन्दै आफन्तहरूले सामाजिक सञ्जालमार्फत उद्धारका लागि आग्रह गरिरहेका छन्।
प्रभावित क्षेत्रमा सम्पर्क तथा यातायात अवरुद्ध हुन सक्ने भएकाले गोसाईंकुण्डतर्फ गएका तीर्थयात्री र पर्यटकको यकिन अवस्थाबारे तत्काल विस्तृत विवरण आउन सकेको छैन।
उद्धार तथा खोजी कार्यका लागि सुरक्षा निकाय परिचालन भइरहेका बेला गोसाईंकुण्डतर्फ गएका यात्रुको अवस्थाबारे समेत जानकारी संकलन गर्नुपर्ने चुनौती थपिएको छ।





