काठमाडौं । तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवा–नुवाकोट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती तथा भौतिक संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
बाढीबाट गोसाईंकुण्ड गाउँपालिकालगायतका स्थानीय तहमा ठूलो क्षति भएको बताइएको छ। प्रभावित क्षेत्रमा धेरै नागरिक सम्पर्कविहीन रहेको तथा केही उद्धारको पर्खाइमा रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइबाका अनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो क्षति भएको छ। उनका अनुसार स्याफ्रुबेसीदेखि टिमुरेसम्मका बासिन्दासँग सम्पर्क हुन सकेको छैन।
‘हामी यहाँ रसुवा सदरमुकाम धुन्चेमा छौँ। तल के–कति क्षति भएको हो, केही पनि थाहा हुन सकेको छैन। स्याफ्रुबेसी बजारदेखि तल टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन। हामी जान पनि सकेका छैनौँ,’ उनले भने।
उनका अनुसार नेपाली सेनाको हेलिकप्टर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन गएको छ। हेलिकप्टर फर्किएपछि मात्रै क्षतिको अवस्थाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
‘स्याफ्रुबेसी बजारसम्म बाढी आएको भन्ने हल्ला छ। तल भएकाहरू के–कति कारणले सम्पर्कविहीन भएका हुन्, थाहा छैन। टेलिफोन टावरमा क्षति पुगेर सम्पर्कविहीन भएका हुन् कि अरू कुनै समस्या छ, यसै भन्न सकिने अवस्था छैन,’ वडाध्यक्ष वाइबाले बताए।
उनले उद्धार टोली प्रभावित क्षेत्रमा पुगेपछि मात्रै वास्तविक अवस्था र क्षतिको विवरण स्पष्ट हुने बताए।
बाढीका कारण सडक, सञ्चार तथा अन्य पूर्वाधारमा क्षति पुगेको हुन सक्ने भएकाले प्रभावित क्षेत्रसम्म पुग्नसमेत कठिनाइ भइरहेको छ। सुरक्षा निकायले उद्धार तथा खोजी कार्यका लागि आवश्यक तयारी गरिरहेको छ।





