११ भदौ, काठमाडौं । रसुवामा गएको बाढीका कारण विपद्मा परेका सर्वसाधारणको उद्धार तथा घाइतेको उपचारका लागि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले द्रुत सहयोग परिचालन गर्ने जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिन नगरपालिकाले दुई वटा एम्बुलेन्स र १० जना नगर प्रहरीसहितको टोली परिचालन गर्ने जनाएको हो ।
बाढीका कारण उच्च जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र घाइतेहरूलाई अस्पतालसम्म पुर्याउन नगर प्रहरी र सवारीसाधन परिचालन सहयोग गर्न नगरपालिका तयार रहेको नगर प्रमुख दिपक रिसालले जानकारी दिए ।
घाइते नागरिकको प्रभावकारी उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालहरूसँग समन्वय गरिएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले जानकारी दिए। उनका अनुसार नेपाल मेडिकल कलेज, शंखरापुर हस्पिटल र नेपाल अर्थोपेडिक अस्पतालमा कुल १५ जना घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ।
रसुवामा बाढीले जनधनको क्षति पुर्याएपछि स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवाला पक्ष उद्धारमा जुटिरहेका बेला गोकर्णेश्वर नगरपालिकाले पनि अग्रसरता देखाएको हो। नगरपालिकाको टोलीले प्रभावित क्षेत्रमा पुगेर उद्धार र सहयोगका कामलाई निरन्तरता दिन तथा अस्पतालहरूसँग नियमित सम्पर्कमा रहने जनाइएको छ।
नगर प्रमुख रिसालले विपद्को समयमा मानवीय सेवालाई पहिलो प्राथमिकतामा राख्दै प्रभावितहरूको उद्धार, उपचार र राहतमा नगरपालिकाले सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। साथै, बाढीको थप जोखिम हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ जानसमेत अपिल गरिएको छ।





