११ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले रु.१ करोड सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। विपद्का कारण प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको हो।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढी–पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीले विपद्का क्रममा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी र गैरसरकारी निकायप्रति उच्च सम्मान व्यक्त गरेको छ।
कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वलाई महत्वपूर्ण प्राथमिकताका रूपमा आत्मसात् गर्दै आएको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले राष्ट्रलाई आवश्यक परेको कठिन तथा संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिँदै आएको छ। आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।





