रसुवा बाढीः बेपत्ता नदीमा मात्र होइन, जमिन र खोल्साखोल्सीमा पनि अड्किएको आशंका, खोजी तीव्र

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । बुधबार बिहान रसुवामा आएको भीषण बाढीमा बेपत्ता भएका मानिस तथा शवहरू नदीमा मात्र नभई जमिनमा पुरिएको वा खोल्साखोल्सीमा अड्किएको हुन सक्ने अनुमान गरिएको छ। उद्धारमा संलग्न सुरक्षा निकायले बेपत्ता तथा मृतकको खोजी तीव्र पारेका छन्।

हेलिकप्टर र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएको नेपाली सेनाले अहिले जीवित व्यक्तिको उद्धारलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ। साथै, जमिनमा पुरिएका तथा खोल्साखोल्सीमा अड्किएका व्यक्तिको खोजी र उद्धारका लागि पनि आवश्यक काम अघि बढाइने सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताएका छन्।

उनका अनुसार प्रभावित क्षेत्रमा देखिएका तथा उद्धारको आवश्यकता रहेका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ। बेपत्ता र मृतकको खोजीका लागि पनि सेना आवश्यक सबै उपाय अपनाउन तयार रहेको उनले बताए।

तर, जमिनमा पुरिएका वा खोल्साखोल्सीमा अड्किएका मानिसको संख्या तथा अवस्थाबारे यथेष्ट सूचना प्राप्त भइनसकेको बस्नेतको भनाइ छ। उनले प्रभावित क्षेत्रमा खटिएको टोलीसँग निरन्तर समन्वय भइरहेको र त्यस्तो अवस्था पुष्टि भए तत्काल खोजी तथा उद्धारको काम अघि बढाइने बताए।

यता, नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले उपलब्ध सम्पूर्ण स्रोत, साधन र प्रविधिको प्रयोग गरेर बेपत्ता तथा मृतकको खोजी तीव्र बनाइएको बताएका छन्। विभिन्न स्थानमा अड्किएका वा अप्ठेरोमा परेका मानिसको उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरेर काम भइरहेको उनले बताए।

बाढीमा बेपत्ता भएका नेपाल प्रहरीका २८ जना कर्मचारी हालसम्म सम्पर्कमा नआएको काफ्लेले जानकारी दिए। प्रहरी कर्मचारी र अन्य सर्वसाधारणको खोजीलाई समान प्राथमिकतामा राखेर उद्धार अभियान सञ्चालन गरिएको उनको भनाइ छ।

बाढीका कारण थुप्रै घर तथा टहरा पुरिनुका साथै नदीका तटीय क्षेत्रसमेत बगेकाले ती स्थानमा पनि खोजी गर्नुपर्ने चुनौती रहेको प्रहरीले जनाएको छ। काफ्लेले बेपत्ता मानिसको खोजीका लागि सबै सम्भावित उपाय अपनाइएको बताएका छन्।

सशस्त्र प्रहरी बलले पनि खोजी तथा उद्धारका लागि मेडिकल, ड्रोन र के–नाइन टोली परिचालन गरेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढीमा बेपत्ताको खोजी र उद्धारका लागि नम्बर ३ बाहिनीपति किरण बस्नेतलाई नुवाकोटस्थित नम्बर १९ गुल्ममा परिचालन गरिएको छ।

मेडिकलतर्फ नेपाल एपीएफ अस्पताल बलम्बुबाट डीएसपी डा. रोशन पराजुलीको नेतृत्वमा १६ जनाको टोली रसुवामा तथा एसएसपी शैलेन्द्र दुवालको नेतृत्वमा पाँच जनाको टोली नुवाकोटमा खटिएको छ।

रसुवा, धादिङ र नुवाकोटमा सशस्त्र प्रहरीले पाँच वटा ड्रोन परिचालन गरेको छ भने काठमाडौंस्थित सशस्त्र प्रहरी मुख्यालयमा थप दुई वटा ड्रोन तयारी अवस्थामा राखिएको छ। त्यस्तै, खोजी अभियानका लागि तीन वटा तालिमप्राप्त कुकुरसहित नौ जना डग ह्यान्डलर पनि प्रभावित क्षेत्रमा परिचालित छन्।

सुरक्षा निकायहरूले बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि बेपत्ता व्यक्तिको खोजी, उद्धार तथा राहत वितरणलाई तीव्रता दिइरहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी