राष्ट्रिय विपत्तिमा दलहरू एक ठाउँमा, खोज–उद्धारदेखि पुनर्निर्माणसम्म साझा संकल्प

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । मुलुकमा आइपरेको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका तथा बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र निर्माण गर्नुपर्ने निष्कर्षसमेत बैठकले निकालेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा जुट्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार बैठकमा सरकारका तर्फबाट भइरहेको खोज, उद्धार तथा राहतका प्रारम्भिक कामबारे जानकारी गराइएको थियो। विभिन्न राजनीतिक दलले प्रभावित क्षेत्रबाट प्राप्त गरेका सूचना तथा विवरण पनि सरकारलाई उपलब्ध गराइएको उनले बताए।

थापाले अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत रहेको उल्लेख गर्दै पुनर्निर्माणको काम दीर्घकालीन हुने बताए।

‘अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत नै हो। तर पुनर्निर्माणको काम वर्षौँसम्म चल्ने र यसमा खर्बौँको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न, सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ,’ उनले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी