जनैपूर्णिमा विशेष मौसम : गोसाईंकुण्डसहितका क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

११ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै देशका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको विशेष मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।

महाशाखाले २०८३ साल भदौ ११ गते मध्याह्न १२ बजे जारी गरेको सूचनामा शुक्रबार र शनिबार देशका विभिन्न धार्मिक क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना औंल्याइएको छ ।

भोटेकोशी बाढीबाट प्रभावित रसुवाको गोसाईंकुण्ड क्षेत्रमा शुक्रबार दिउँसो धेरै ठाउँमा अपराह्नदेखि मध्यम वर्षाको सम्भावना छ भने राति केही ठाउँमा मध्यम र एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

शनिबार दिउँसो पनि अपराह्नदेखि धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ । शनिबार राति केही ठाउँमा मध्यम तथा एक–दुई ठाउँमा भारी वर्षा हुने आकलन गरिएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा शुक्रबार दिउँसो धेरै ठाउँमा अपराह्नदेखि मध्यम वर्षाको सम्भावना छ भने राति धेरै ठाउँमा मध्यम र एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना औंल्याइएको छ । शनिबार दिउँसो केही ठाउँमा अपराह्नदेखि मध्यम वर्षा र राति एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

दोलखा–रामेछाप सिमानामा पर्ने जटापोखरी क्षेत्रमा शुक्रबार र शनिबार दुवै दिन दिउँसो मध्यम वर्षाको सम्भावना छ । राति भने एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाजुराको बडीमालिका क्षेत्रमा शुक्रबार दिउँसो र राति केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । शनिबार दिउँसो केही ठाउँमा र राति एक–दुई ठाउँमा मध्यम वर्षाको मात्र सम्भावना छ ।

काठमाडौंको मणिचुड दह क्षेत्रमा शुक्रबार दिउँसोदेखि मध्यम वर्षा र राति मध्यम वर्षाको सम्भावना छ । शनिबार दिउँसो केही ठाउँमा अपराह्नदेखि मध्यम वर्षा तथा राति पनि केही ठाउँमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुम्लाको दानसाधु क्षेत्र र नवलपरासीको त्रिवेणीधाम क्षेत्रमा शुक्रबार र शनिबार दिउँसो तथा रातिको समयमा केही ठाउँमा मध्यम वर्षाको सम्भावना औंल्याइएको छ ।

दोलखाको शैलुङ क्षेत्रमा शुक्रबार र शनिबार दिउँसो केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । राति भने एक–दुई ठाउँमा भारी वर्षा हुन सक्नेछ ।

धनुषाको जनकपुर धाम क्षेत्रमा शुक्रबार र शनिबार दिउँसो तथा राति केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

ललितपुरको कुम्भेश्वर मन्दिर क्षेत्रमा शुक्रबार दिउँसो केही मध्यम वर्षाको सम्भावना औंल्याइएको छ । राति भने मध्यम वर्षा हुन सक्ने सम्भावना छ । शनिबार भने मध्यम वर्षाको सम्भावना औंल्याइएको छ ।

महाशाखाका अनुसार हल्का वर्षा भन्नाले १० मिलिमिटरसम्म, मध्यम वर्षा भन्नाले १० देखि ५० मिलिमिटरसम्म र भारी वर्षा भन्नाले ५० देखि १०० मिलिमिटरसम्म बुझिन्छ ।

हेर्नुहोस् महाशाखाको सूचना :

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी