रसुवा भोटेकोशी बाढीपीडितका लागि गोकर्णेश्वर विपद् राहत कोष स्थापना

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

११ भदौ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले रसुवामा भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि राहत कोष स्थापना गरेको छ।

नगरपालिकामा आज भएको जनप्रतिनिधि तथा कर्मचारीको बैठकले जनप्रतिनिधिहरूको एक महिनाको सुविधा र कर्मचारी स्वास्थ्य कर्मी तथा शिक्षकहरूको १० प्रतिशत तलब बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार हालसम्म ५१ लाख रुपैयाँ संकलन भएको नगरपालिकाले जनाएको छ।

राहत अभियानमा गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न संघसंस्था, क्लब, टोल सुधार समिति, महिला समूहलगायत नगरवासीले आफ्नो इच्छाअनुसार स्वेच्छिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

नगर प्रमुख दीपक रिसालका अनुसार संकलित रकम रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग समन्वय गरी बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने गरी उपलब्ध गराइनेछ।

नगर प्रमुख रिसालले विपद्को यस कठिन घडीमा रसुवाका बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गोकर्णेश्वर नगरपालिका र नगरवासीको तर्फबाट सहयोग अभियान अघि बढाइएको बताए। साथै, इच्छुक व्यक्ति तथा संघसंस्थालाई राहत कोषमा स्वेच्छिक सहयोग गर्न समेत आग्रह गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी