नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि अस्ट्रेलिया सरकारले नेपाललाई ५० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने भएको छ।
अस्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै स्थापित साझेदार संस्थामार्फत उपलब्ध गराउने गरी सहयोग रकम घोषणा गरेको हो।
उक्त रकमबाट खाद्यान्न, आकस्मिक आश्रय, स्वच्छ खानेपानी तथा सरसफाइ लगायतका अत्यावश्यक सहयोग उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
५० लाखमध्ये अस्ट्रेलियन डलरमध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रममार्फत प्रदान गरिने विदेश मन्त्रालयले जनाएको छ।
उक्त संस्थाले यसअघि नै प्रभावित क्षेत्रमा खाद्यान्न वितरण तथा नेपालको आपतकालीन प्रतिकार्यका लागि आवश्यक लजिस्टिक सहयोग सुरु गरिसकेको अस्ट्रेलिया सरकारले जनाएको छ।
अर्को २० लाख डलर ‘अस्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिप’मार्फत अस्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई उपलब्ध गराइनेछ।
यसबाट आपतकालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, चिकित्सकीय सहयोग तथा मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ।
बाँकी १० लाख डलर ‘इमर्जेन्सी एक्सन एलायन्स’मार्फत स्थानीय नेतृत्वमा हुने पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासका लागि प्रदान गरिने मन्त्रालयले जनाएको छ।
अस्ट्रेलिया सरकारले विपदमा प्रभावित नेपाली समुदायलाई सहयोग गर्न चाहने आफ्ना नागरिकलाई ‘इमर्जेन्सी एक्सन एलायन्स’मार्फत सहयोग गर्न आग्रहसमेत गरेको छ।
बाढीमा अस्ट्रेलियाको ३९ नागरिक सम्पर्कविहीन रहेको विज्ञप्तीमा भनिएको छ।
उनीहरुको खोजीका लागि नेपालस्थित अस्ट्रेलियन दूतावासबाट कर्मचारीसँगै क्राइसिस रेस्पोन्स टिम (सिआरटी)का सदस्य र क्षेत्रीय कन्सुलर पनि खटिएको विदेश मन्त्रालयले जनाएको छ।
थप क्षेत्रीय तथा सिआरटी टोली परिचालनको तयारी भइरहेको र ४८ घन्टाभित्र तीन जना विशेषज्ञको टोली पठाउन लागिएको जनाएको छ।
‘अस्ट्रेलिया असिस्ट्स’ कार्यक्रमअन्तर्गत परिचालन हुने उक्त टोलीमा मानवीय अवस्थाको मूल्यांकन, राहत सामग्री व्यवस्थापन, सञ्चार तथा योजना निर्माणमा विशेषज्ञता भएका अधिकारीहरू रहनेछ विदेश मन्त्रालयले जनाएको छ।





