काठमाडौँ । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ। बाढीका कारण यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरूमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदुरहरू समेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीसाधनमा पुगेको क्षतिको पूर्ण विवरण आइनसकेको भए पनि प्रारम्भिक विवरणहरू आउने क्रम जारी रहेको बताएका छन्। विपद्पछि उत्पन्न क्षति र जोखिमको अध्ययन गर्न महासंघको आपत्कालीन कार्यसमिति बैठकले केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ।
यस समितिमार्फत बाढीपीडित यातायात व्यवसायी तथा मजदुरहरूको अवस्था पहिचान गरी उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन राज्य संयन्त्रसँग समन्वय गरिने अध्यक्ष सिटौलाले जानकारी दिएका छन्।
अध्यक्ष सिटौलाका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका तर्फबाट मानसरोवर यात्रामा गएका तीर्थयात्रीहरू बोकेका २५ वटा बसहरूको अवस्था अहिलेसम्म अज्ञात रहेको छ। ती सवारीसाधनहरूमा सवार यात्रुहरूसँगै करिब ५० जना कर्मचारीहरू पनि हालसम्म सम्पर्कविहीन नै रहेका छन्।
यसैगरी, नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधनहरू र ती सवारीमा सवार यात्रुहरूको अवस्थाबारे पनि अहिलेसम्म कुनै पनि जानकारी प्राप्त हुन सकेको छैन। नुवाकोट क्षेत्रमा मात्रै ठूलो संख्यामा बस, माइक्रोबस तथा मालवाहक ढुवानीका साधनहरू प्रभावित भएका छन् भने ती सवारीमा कार्यरत चालक, सहचालक र यातायात मजदुरहरूको अवस्था अझै अज्ञात रहेको छ।
अध्यक्ष सिटौलाले विपद्को यस कठिन घडीमा खोजी, उद्धार तथा जोखिम न्यूनीकरण कार्यमा आ–आफ्नोतर्फबाट सहयोग गर्न सबै पक्षलाई गम्भीर अपिल गरेका छन्। गएको बुधबार बिहान तिब्बततर्फबाट आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवनलगायत तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ भने प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत र पुनस्थापनाका लागि अहिले राज्यका सुरक्षा तथा प्रशासनिक संयन्त्रहरू तीव्र रूपमा परिचालन भएका छन्।





