मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

रौतहट । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ ।

बिहीबार राति करिब १० बजे बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा कलैया उपमहानगरपालिका–१४ निवासी ३३ वर्षीय पाण्डे गम्भीर घाइते भएका थिए । घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी नायब निरीक्षक विमलेशकुमार यादवको कमान्डमा खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएको थियो ।

कलैया अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो । तर, बयोधा अस्पतालमा चिकित्सकले राति १०ः५० बजे पाण्डेलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी मीनबहादुर घलेले जानकारी दिएका छन्।

पाण्डेको शव बयोधा अस्पतालमै राखिएको छ । दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट बसपार्कको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्