काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम उपलब्ध गराएको हो। बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको बैंकले जनाएको छ।
बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्लेले बाढीपीडितका लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सहयोग उपलब्ध गराएकोमा नेपाल बैंक परिवारलाई धन्यवाद दिए।
सञ्चालक लम्सालले प्राकृतिक विपद्का समयमा बैंकले गर्दै आएको सामाजिक उत्तरदायित्वअन्तर्गत यसपटक पनि सहयोग गरिएको बताए। उनले आगामी दिनमा समेत राष्ट्रिय विपद्का समयमा बैंकका तर्फबाट आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल बैंकले यसअघि पनि दैवी तथा प्राकृतिक प्रकोप, भूकम्प तथा महामारीलगायतका राष्ट्रिय विपद्का समयमा आर्थिक सहयोग गर्दै आएको जनाएको छ।
बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।





