बेइजिङ । चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ (ग्यिरोङ) काउन्टीमा गएको भीषण पहिरोपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन चिनियाँ राष्ट्रपति सी जिनपिङले उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय बैठकमा भोटेकोशी विपत्तिलाई मुख्य एजेण्डा बनाएर उद्धार तथा राहत कार्यका विषयमा छलफल गरिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ।
विनाशकारी पहिरोपछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्न सीले पार्टी नेतृत्वको बैठक बोलाएका हुन्।
बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी जिनपिङसहित अन्य नेताहरूले बुधबार सीमा क्षेत्रमा रहेको केरुङ बन्दरगाहमा गएको विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए।





