युक्रेनको राजधानी किभनजिकै रहेको हतियार भण्डारमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । घटनापछि करिब ४०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
शुक्रबार राति किभको बाहिरी क्षेत्रमा रहेको मायला गाउँमा युक्रेनी सेनाका लागि राखिएका हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिएको डिपोमा रुसी ड्रोनले प्रहार गरेको थियो ।
आक्रमणपछि त्यहाँ राखिएका गोला, बारुद, बारुदी सुरुङ र ड्रोन विस्फोट हुँदा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार विस्फोटबाट वृद्ध तथा अपांगता भएका व्यक्तिहरूका लागि रहेको हेरचाह केन्द्रसहित आसपासका संरचनामा क्षति पुगेको छ । घटनामा ४२ जना घाइते भएका छन्, जसमा चार बालबालिका छन् ।
रुसको रक्षा मन्त्रालयले भने मायला गाउँमा रहेको ‘गोला–बारुद भण्डार’लाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । उक्त भण्डारमा लामो दूरीका मानवरहित हवाई उपकरणका सामग्री र प्रक्षेपण बुस्टर राखिएको रुसी पक्षको दाबी छ ।
विस्फोटका कारण मायला गाउँमा मात्रै करिब १३० घरमा क्षति पुगेको बताइएको छ । घटनास्थलबाट उद्धार तथा खोजी कार्य शनिबार पनि जारी रहेको छ ।
राष्ट्रपति जेलेन्स्कीले आवासीय क्षेत्रनजिकै विस्फोटक पदार्थ राखिएको विषयलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै घटनाबारे आपराधिक अनुसन्धान अघि बढाइएको बताएका छन् ।
उनका अनुसार विस्फोटक पदार्थ आवासीय क्षेत्रनजिक राख्न नहुने स्पष्ट नियम हुँदाहुँदै पनि त्यहाँ हतियार भण्डारण गरिएको थियो । घटनामा संलग्न अधिकारीहरूको निर्णय र विस्फोटक पदार्थ भण्डारणको वैधानिकताबारे अनुसन्धान भइरहेको छ ।
युक्रेनमा केही महिनाअघि पनि किभनजिकै रहेको भिश्नेभेमा हतियार भण्डारमा आक्रमण हुँदा दोस्रो चरणको विस्फोटमा नौ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । त्यस घटनामा २८० भन्दा बढी घरमा क्षति पुगेको थियो ।
पछिल्लो घटनापछि अघिल्लो घटनाबाट पाठ नसिकिएको भन्दै युक्रेनी अधिकारीहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन् ।
यसैबीच, किभ क्षेत्रमा रुसी आक्रमण जारी रहेको छ । स्थानीय अधिकारीहरूका अनुसार छुट्टाछुट्टै आक्रमणमा बालबालिकासहित थप मानिसको मृत्यु तथा घाइते भएका छन् । युक्रेनी सेनाले रातभरको आक्रमणमा २३३ रुसी ड्रोन खसालेको दाबी गरेको छ ।
रुस र युक्रेनबीच पछिल्ला महिनामा एकअर्काविरुद्ध हवाई आक्रमण तीव्र हुँदै गएको छ ।





