चौतारा साँगाचोकगढी–७ का नागरिकलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–७ का बासिन्दाले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा छुट पाउने भएका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका–७ र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच भएको सम्झौताअनुसार वडा नम्बर ७ का बासिन्दालाई दुवाकोटस्थित केएमसी अस्पतालमा अस्पताल सेवामा ५० प्रतिशतसम्म छुट उपलब्ध गराइने भएको हो। त्यस्तै, सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार गराउँदा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

सम्झौताअनुसार बिरामीको दर्ता तथा ओपीडी कार्ड निःशुल्क हुनेछ। जनरल बेड शुल्कमा २५ प्रतिशत र क्याबिनमा १० प्रतिशत छुट दिइनेछ।

त्यस्तै, आईसीयू, एचडीयू, सीसीयू तथा ओटी सेवा, ल्याब परीक्षण, सीटी/एमआरआई, एक्स–रे, यूएसजी, डेन्टल एक्स–रे, ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी, विभिन्न डायग्नोस्टिक सेवा तथा फिजियोथेरापीमा २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौतामा उल्लेख छ।

दन्त उपचारअन्तर्गत स्केलिङ, आरसीटी, फिलिङ तथा प्रोस्थेसिसमा सामग्रीको लागतबाहेक २५ प्रतिशत छुट दिइनेछ। ईआरसीपी तथा एमआरसीपी सेवामा पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

तर क्याथ ल्याब सेवा, क्याथ ल्याबमा प्रयोग हुने सामग्री तथा ट्रान्सप्लान्ट सेवामा भने छुट उपलब्ध नहुने सम्झौतामा स्पष्ट गरिएको छ।

सरकारबाट सञ्चालित स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक, ज्येष्ठ नागरिक, औषधि उपचार कोषलगायतका सुविधामा आबद्ध बिरामीले पहिले सम्बन्धित सरकारी सुविधा प्रयोग गर्नुपर्ने र त्यसपछि मात्रै सम्झौताअनुसारको सहुलियत पाउने व्यवस्था गरिएको छ।

छुट सुविधा लिन अस्पताल जाँदा ठेगाना खुल्ने परिचयपत्र र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ।

सम्झौता एक वर्षका लागि लागू हुने र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने उल्लेख छ। प्रत्येक ६ महिनामा सम्झौताको समीक्षा गरी आवश्यकताअनुसार प्रावधान परिमार्जन गर्न सकिने व्यवस्था पनि गरिएको छ।

सम्झौतामा चौतारा साँगाचोकगढी नगरपालिका–७ का वडा अध्यक्ष डम्बर बहादुर तामाङ्ग र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सम्झौताले वडा नम्बर ७ का नागरिकलाई गुणस्तरीय स्वास्थ्य उपचारमा सहुलियत र पहुँच बढाउने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्