काठमाडौं । १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री तथा आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।
मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोगको निगरानी बढाउने, सुरक्षित खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिने र आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा लगायतका पानीजन्य रोगको जोखिम बढेको हो। त्यसलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा रोगको रोकथाम, शीघ्र पहिचान तथा उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।





