काठमाडौं । भोटेकोशी बाढीपीडितलाई वितरण गर्न तयारी अवस्थामा राखिएका राहत सामग्रीमा गम्भीर लापरबाही भेटिएको छ ।
विपद्मा परेका नागरिकलाई सहयोगस्वरूप पठाउन लागिएका चामल, आटा, भुजा, चिप्सलगायत खाद्य सामग्री म्याद गुज्रिएको तथा उपभोग गर्न अयोग्य अवस्थामा फेला परेका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंको संयुक्त अनुगमन टोलीले काठमाडौंका विभिन्न पाँचवटा भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य बाहिर आएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्मका भण्डारण स्थलमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेका छन् ।
अनुगमन टोलीले विशेषगरी बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीस्थित प्रहरी तालिम केन्द्र र राधा स्वामी सत्सङमा भण्डारण गरिएका राहत सामग्रीमा कैफियत फेला पारेको हो ।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार राहत संकलन तथा प्याकेजिङ भइरहेका ती स्थानमा म्याद गुज्रिएका खाद्य सामग्रीलाई अन्य प्रयोगयोग्य सामग्रीसँगै वितरणका लागि तयारी अवस्थामा राखिएको थियो ।
बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा राहतका लागि प्याकिङ गर्न तयारी अवस्थामा राखिएका सामग्रीमध्ये यशोदा फुड्स प्रालि, रुपन्देहीको ‘करेन्ट चिप्स’ र गिरिधारी फुड प्रडक्ट, बुटवलको ‘भुजा’ म्याद गुज्रिएको अवस्थामा फेला परेको छ ।
अनुगमन टोलीले ३० थान करेन्ट चिप्स र २१ बोरा भुजा वितरणमा रोक लगाउँदै छुट्टै ‘एक्स्पायर्ड जोन’ मा राखेर कारबाही प्रक्रिया अघि बढाएको छ ।
यसैगरी, सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा भण्डारण गरिएका सामग्रीमध्ये दुई प्याकेट अर्थात् १८ पिस चोकोफन र पाँच किलोको एक प्याकेट चक्की आटा पनि म्याद गुज्रिएको अवस्थामा फेला परेको छ ।
सोही स्थानमा राखिएका ५९ प्याकेट ‘अल इन वान’ दालमोठको उपभोग्य मिति सकिन दुई दिनमात्र बाँकी रहेको पाइएको थियो । विभागले म्याद गुज्रिएका सामग्रीसँगै दुई दिनमात्र म्याद बाँकी रहेको उक्त दालमोठलाई समेत राहतका रूपमा वितरण गर्न रोक लगाउँदै ‘एक्स्पायर्ड जोन’ मा राख्न लगाएको छ ।
सामाखुसीमै रहेको राधा स्वामी सत्सङमा गरिएको अनुगमनका क्रममा जयश्री उसिना चामलको २५ किलोको एक बोरा पनि म्याद गुज्रिएको अवस्थामा फेला परेको छ ।
राहतजस्तो संवेदनशील र मानवीय कार्यमा म्याद गुज्रिएका वा उपभोग गर्न अयोग्य खाद्य सामग्री वितरण गर्दा पहिले नै विपद्मा परेका विपन्न तथा पीडित नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विभागले आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।





