एनपीएलको प्रसारण अधिकार हिमालय स्पोर्ट्सलाई

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार (ब्रोडकास्ट राइट्स) हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँ (१७.२४ करोड) को बोली लगाएर प्रतियोगिताको प्रसारण अधिकार सुरक्षित गरेको हो ।

कम्पनीले सोमबार जारी गरेको आधिकारिक विज्ञप्तिमा एनपीएलको प्रसारण अधिकार प्राप्त गर्नु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ ।

विज्ञप्तिअनुसार हिमालय स्पोर्ट्सले कबोल गरेको रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो । त्यस्तै, यो वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा झन्डै साढे दुई गुणा बढी हो ।

‘एनपीएल यति ठूलो स्तरको लगानीको हकदार छ भन्ने हाम्रो दृढ विश्वास हो । नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगितालाई यस क्षेत्रकै अग्रणी खेलकुद प्रोपर्टीका रूपमा उचाइ दिनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ,’ हिमालय स्पोर्ट्सले विज्ञप्तिमा भनेको छ ।

खेलकुद संघले व्यावसायिक रूपमा दिगो र बलियो प्रतियोगिता निर्माण गर्दा के हासिल गर्न सकिन्छ भन्ने कुराको शक्तिशाली उदाहरण एनपीएलको बढ्दो मूल्यले देखाएको कम्पनीको निष्कर्ष छ ।

यस्तो आर्थिक वृद्धिले समग्र क्रिकेट इकोसिस्टमलाई बलियो बनाउने, थप स्रोतसाधन जुटाउने र नेपाली क्रिकेटको विकासका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

हिमालय स्पोर्ट्सका लागि यो प्रसारण अधिकारको खरिद मात्र नभई नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धता भएको बताइएको छ ।

कम्पनीले एनपीएललाई गुणस्तरीय उत्पादन तथा फराकिलो पहुँचसहित दर्शकमाझ पस्कने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्