काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ । आज नेप्से १८.०७ अंकले बढेर २ हजार ५६०.८४ विन्दुमा पुगेर बन्द भएको छ ।
आज बजारमा कुल ३५२ वटा कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयर ५० हजार ८४४ पटक खरिद–बिक्री भएका छन् । यसबाट कुल ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कुल १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज पियोर इनर्जी नामक कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । अन्य धेरै बढ्ने कम्पनीको सेयर मूल्यमा भने एकल अंकको मात्रै वृद्धि देखिएको छ ।
आज फाइनान्स र ट्रेडिङबाहेक सबै समूहगत सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ । बाढीका कारण विभिन्न संरचना बन्द हुँदा निर्जीवन बीमा क्षेत्रमा देखिएको गिरावटलाई आजको सुधारले केही थामेको देखिएको छ ।
बैंकिङ तथा उत्पादनमूलक क्षेत्रमा समेत वृद्धि देखिएको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको २५ करोड २१ लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यसैगरी, गरिमा विकास बैंकको १७ करोड ८८ लाख रुपैयाँ, सोलु हाइड्रोपावरको १६ करोड २७ लाख रुपैयाँ र एसवाई प्यानलको १३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।





