काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनीतिक दल र नागरिकलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिले दोषारोपण वा राजनीतिक विवादमा अल्झिने समय नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताए ।
राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरोका कारण आएको बाढीलाई कहालीलाग्दो प्राकृतिक प्रकोपको संज्ञा दिए ।
यस विपत्तिले ठूलो संख्यामा मानव जीवन, घरपरिवार, सडक, पुल तथा जलविद्युत् आयोजनालगायत राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याएको भन्दै उनले गहिरो शोक व्यक्त गरे । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे ।
आफ्नो ज्यानको समेत पर्वाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्वयंसेवकहरूको साहस र सेवाभावको प्रशंसा गर्दै राष्ट्रपति पौडेलले उनीहरूको योगदानले नेपालको उत्कृष्ट मानवीय चरित्र झल्काएको बताए ।
कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिका बाबजुद बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन उनले सरकारको ध्यानाकर्षण गराए ।
विपत्तिमा परी ज्यान गुमाएका विदेशी नागरिकप्रति पनि राष्ट्रपति पौडेलले शोक व्यक्त गरे । नेपालले आफ्नो भूमिमा रहेका हरेक व्यक्तिलाई परिवारकै सदस्यका रूपमा मान्ने उल्लेख गर्दै उनले प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगसँग सहकार्य गर्ने बताए ।
साथै, छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले खोज, उद्धार र प्राविधिक सहयोग उपलब्ध गराएकोमा उनले कृतज्ञता व्यक्त गरे ।
राष्ट्रपति पौडेलले विस्थापित नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, औषधोपचार र सुरक्षित आश्रयस्थल सुनिश्चित गर्न सरकारलाई आग्रह गरे । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकको संरक्षणमा विशेष ध्यान दिन उनले जोड दिए ।
मृतकको पहिचानका लागि आवश्यकताअनुसार डीएनए नमुना सङ्कलनलगायत वैज्ञानिक विधि अपनाउन पनि उनले सुझाव दिए ।
हिमनदी फुट्ने तथा हिमपहिरो जाने घटनालाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।
‘यस विपत्तिले हाम्रो हिमाली पर्यावरणको नाजुक अवस्था दर्साएको छ,’ उनले भने, ‘म अन्तर्राष्ट्रिय समुदायलाई नेपालजस्ता देशहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न आह्वान गर्दछु ।’
राष्ट्रपति पौडेलले पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदा नेपालको विद्यमान विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने बताए ।
विगतमा भूकम्प, बाढी, पहिरो तथा महामारीजस्ता विपत्तिको सामना गर्दा नेपाली जनताले धैर्य, साहस र दृढताका साथ परिस्थितिको सामना गरेको स्मरण गर्दै उनले यसपटक पनि राष्ट्रिय पुनरुत्थानका लागि सबैलाई सँगै उभिन आग्रह गरे ।
‘यो विभाजनको समय होइन । एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन । यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,’ राष्ट्रपति पौडेलले भने ।
पूर्णपाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज हामी नेपालीहरू अत्यन्त गहिरो शोक र पीडाबाट गुज्रिरहेको यस कठिन तथा दुःखद क्षणमा म तपाईँहरूमाझ केही भन्न उपस्थित भएको छु । यतिबेला नेपालले कहालीलाग्दो प्राकृतिक प्रकोपको सामना गर्नुपरेको छ । २०८३ भाद्र १० गतेका दिन हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरो खसेर आएको विनाशकारी बाढीले नेपाली जनतामाथि अकल्पनीय पीडा ल्याएको छ । यस विपत्तिले असङ्ख्य मानव जीवन, घरपरिवार र जीविकोपार्जनका आधारहरू बगाउनुका साथै सडक तथा पुलहरूमा व्यापक क्षति पु¥याएको छ । साथै यसले जलविद्युत् आयोजनालगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा समेत गम्भीर क्षति पु¥याएको छ । आज सम्पूर्ण राष्ट्र यस भयावह विपत्तिकोे शोकमा छ । यो विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल होस् भन्ने कामना गर्दछु । विपत्तिमा प्रत्यक्ष रूपमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न सम्पूर्ण व्यक्ति र संस्थाप्रति म उच्च सम्मान व्यक्त गर्दछु । उद्धार कार्यमा संलग्न धेरैले आफ्नो ज्यानको समेत पर्वाह नराखी पीडित तथा प्रभावित नागरिकहरूको उद्धारका लागि अत्यन्त जोखिमपूर्ण क्षेत्रमा प्रवेश गर्नुभएको छ । वास्तवमा उहाँहरूको अदम्य साहस, समर्पण र सेवाभाव नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्दछ भन्ने कुरा म गर्वका साथ यहाँ भन्न चाहन्छु । तर, कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवम् जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन । नेपालमा कार्यरत, पर्यटक, हिमाली क्षेत्रमा पदयात्रामा रहनुभएका वा आध्यात्मिक यात्राका क्रममा नेपालमा रहनुभएका हरेक विदेशी नागरिकहरू, जसले यस विपत्तिमा परी ज्यान गुमाउनुभएको छ; उहाँहरूप्रति पनि हामी भावपूर्ण शोक व्यक्त गर्दछौँ । आफ्ना प्रियजन गुमाउनुभएका सम्पूर्ण परिवारहरूप्रति नेपालका तर्फबाट म हार्दिक समवेदना व्यक्त गर्दछु । नेपालले आफ्नो भूमिमा रहेका प्रत्येक व्यक्तिलाई आफ्नै परिवारको सदस्यका रूपमा मान्दछ । प्रभावित नागरिकहरू भएका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग हामी सहकार्य गर्नेछौँ । यस कठिन घडीमा नेपालले सामना गरिरहेको यस विशाल चुनौतीका बीच तत्काल खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरणहरू उपलब्ध गराई द्रुत सहयोग र सहकार्य प्रदान गर्नुहुने हाम्रा छिमेकी मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय समुदायका सम्पूर्ण सदस्यहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । अहिले हामी यति गहिरो पीडामा छौँ; जसलाई कम गर्न सक्ने शब्दहरू हामीसँग छैनन् । परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त पार्न चाहन्छु । तपाईँहरूले अनुभव गरिरहनुभएको अनिश्चितताको यो क्षणको पीडा सिङ्गो राष्ट्रले नै महसुस गरिरहेको छ । उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्दछ । अहिले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकहरूप्रति विशेष ध्यान दिन आवश्यक छ । साथै अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्छ भन्ने विषयमा हामी विशेष रूपमा सचेत र संवेदनशील रहनुपर्छ । नेपाली नागरिक तथा विदेशी नागरिक दुवैको हकमा उहाँहरूका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफ्ना प्रियजनहरूलाई घर ल्याउन आवश्यक सहजीकरण तथा मानवीय सहयोग उपलब्ध गराउन आवश्यक छ । यी सबै कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन सरकारबाट राज्यका स्थानीयलगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु । सबैभन्दा महत्वपूर्ण कुरा हामीले यस विपत्तिमा ज्यान गुमाउनुभएकाप्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्दछ । मृतकहरूको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गरिनुपर्दछ । आवश्यकतानुसार डीएनए नमुना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिने नै छ भन्ने मलाई विश्वास छ । यस प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ । अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ; भरोसा चाहिएको छ । र, सरकार, राजनीतिक दल र सम्पूर्ण नागरिक सङ्घसंस्था त्यसका लागि क्रियाशील छ भन्ने मैले ठानेको छु । र, यो दुःखको घडीमा म आफू पनि सबैको साथमा रहेको विश्वास दिलाउन चाहन्छु । हामीलाई थाहा छ; विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो । त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन; समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु । अन्तर्राष्ट्रिय समुदायका मित्रहरू, यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ । म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन; उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु । प्रिय दिदीबहिनी तथा दाजुभाइहरू, तपाईँहरूलाई स्मरण नै छ; नेपालले विगतमा पनि भूकम्प, बाढी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको छ । प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ यस्ता कठिन परिस्थितिको सामना गर्दै आएको हो । म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घसंस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु । यो विभाजनको समय होइन । एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन । यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो । यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो । हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ । भगवान्ले हामी सबैलाई यस अप्रत्याशित तथा भयानक विपत्तिको सामना गर्दै यसबाट पार पाउन आवश्यक शक्ति र साहस प्रदान गरून् भन्ने हार्दिक प्रार्थना गर्दछु ।





