काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तथा बेपत्ताको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्डका पदाधिकारी, पर्यटक प्रहरीका अधिकारी तथा पर्यटन क्षेत्रका विभिन्न संघसंस्था र व्यवसायी सहभागी थिए।
कार्यक्रममा सहभागीहरूले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै, बेपत्ता नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र खोजी कार्य सफल होस् भन्ने कामनासहित दीप प्रज्ज्वलन गरिएको थियो।
गत २६ अगस्ट २०२६ मा नेपाल–चीन सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीले रसुवाको भोटेकोशी नदी तथा आसपासका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लाका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बाढीका कारण त्यस क्षेत्रमा आवतजावत गरिरहेका पर्यटक तथा यात्रुसमेत प्रभावित भएका छन्।
बाढीपछि पर्यटकको अवस्था पहिचान, उद्धार तथा उनीहरूका परिवारसँग सम्पर्क कायम गराउने कार्यमा पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा काम गरिरहेको जनाइएको छ।












