२२ भदौ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाज, काठमाडौं शाखाको आयोजनामा भोटेकोशी-रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।
कार्यक्रममा बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।
दुःख र विपद्को यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मानवता, सहकार्य र सहयोगको भावना अझ बलियो बनाउनुपर्नेमा मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाका सभापति विकास थापाले जोड दिए।
दीप प्रज्वलन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं मानव अधिकारकर्मी कृष्ण पहाडी, निवर्तमान सभापति रामकृष्ण बराल तथा विभिन्न जनप्रतिनिधिसहित संस्थाका पदाधिकारी, सदस्य र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत विपद्मा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै पीडित तथा प्रभावित परिवारको साथमा मानव अधिकार तथा शान्ति समाज रहेको सन्देशसमेत दिइएको थियो।











