काठमाडौँ। साउदी अरबले ‘स्ट्रेट अफ हर्मुज’ लाई छलेर पश्चिमतर्फ तेल ओसारपसार तीव्र पारिरहेका बेला लाल सागर क्षेत्रको प्रमुख तेल प्रशोधन केन्द्र साउदी आरामको जिजान रिफाइनरीमा सोमबार पुनः आक्रमण भएको छ।
‘फाइनान्सियल टाइम्स’ का अनुसार साउदी अरबको दक्षिण-पश्चिमी क्षेत्रमा रहेका ती संरचनामा भएको आक्रमणको क्षति गत महिना सञ्चालन अवरुद्ध पारेको घटनासँग मिल्दोजुल्दो छ। यद्यपि, आरामकोले पछिल्लो क्षतिबारे कुनै प्रतिक्रिया दिएको छैन भने आक्रमणको जिम्मेवारी पनि कसैले लिएको छैन।
यस गर्मीयाममा साउदी अरब र यमनका इरान-समर्थित हुथी विद्रोहीहरूबीच द्वन्द्व चर्किएयता जिजान बारम्बार निसानामा पर्दै आएको छ। हुथीहरूले जुलाईमा जिजान र यान्बुका संरचनाहरूमा तथा अगस्टमा पुनः जिजानमा आक्रमण गरेका थिए।
इरानसँगको तनावका कारण हर्मुज जलमार्गबाट हुने निर्यात रोकिएपछि साउदीका लागि लाल सागर तटमा रहेको यो रिफाइनरी रणनीतिक रूपमा महत्त्वपूर्ण बनेको छ। साउदीले आफ्नो ‘पूर्व-पश्चिम पाइपलाइन’ मार्फत यान्बुतिर कच्चा तेल पठाए पनि अघिल्ला आक्रमणयता यस रिफाइनरीबाट हुने ढुवानीमा भारी गिरावट आएको छ। अगस्ट महिनामा यहाँबाट कुनै पनि निर्यात हुन सकेको थिएन।
आरामकोका प्रमुख कार्यकारी अमिन नासेरले अघिल्ला आक्रमणले केही समय अवरोध पुर्याए पनि कम्पनीको सञ्चालन तथा वित्तीय क्षेत्रमा गम्भीर असर नपरेको दाबी गरेका छन्।
यसैबीच, इरानले हर्मुज जलमार्गमा जहाजहरूले तेहरानसँग समन्वय गर्नुपर्ने गरी सीमित समुद्री क्षेत्र र नयाँ ढुवानी मार्गको प्रस्ताव गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य थप बढेको छ।
इरानले अमेरिकी युद्धपोतमा मिसाइल प्रहार गरेपछि अमेरिकी सेनाले इरानी ट्यांकरहरूमा आक्रमण गर्दा उत्पन्न तनावका बीच सोमबार ‘ब्रेन्ट’ कच्चा तेलको मूल्य प्रति ब्यारेल ९७ डलरभन्दा माथि पुगेको छ।





