सुदूरपश्चिममा तीन दिनसम्म भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

अत्तरिया : कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न भू-भागमा जारी वर्षा आगामी तीन दिनसम्म कायमै रहने देखिएको छ।

जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाका अनुसार आजदेखि २४ भदौसम्म प्रदेशभर मौसम बदली भई वर्षा जारी रहने सम्भावना छ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आगामी तीन दिन हिमाल, पहाड र तराईका अधिकांश क्षेत्रमा साधारणतया बदली रहने जानकारी दिए।

यस अवधिमा प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार पहाडी र तराई भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ।

‘आज दिउँसो हिमाली क्षेत्रका थोरै तथा पहाडी र तराईका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ,’ कार्यालय प्रमुख साहले भने, ‘राति पनि हिमाली क्षेत्रका थोरै र पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनुका साथै एक-दुई ठाउँमा भारी वर्षा हुनसक्ने अनुमान छ।’

यसैगरी, मंगलबार वर्षाको दायरा केही साँघुरिने भए पनि मौसम भने पूर्ण रूपमा खुल्ने छैन। सो दिन हिमाली तथा पहाडी क्षेत्रका थोरैदेखि धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

राति भने प्रदेशका तीनवटै भौगोलिक क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्