हङकङसँग १५ रनले हार्‍यो नेपाल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले पहिलो हार व्यहोरेको छ। भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो।

पराजित भए पनि नेपालले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ। आजको हारपछि पनि नेपाल समूह विजेता बनेको छ। समान ६–६ अंक भए पनि नेपाल रनरेटका आधारमा समूह विजेता बनेको हो।

हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो।

इशान पाण्डेले ९० रनको शानदार पारी खेले पनि नेपालको हार टरेन। यस्तै, आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रन जोडे।

बलिङतर्फ हङकङका अइजज खानले चार, यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट लिए।

त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन जोड्यो।

उसका लागि बाबर हयातले शतकीय इनिङ्स खेले। उनी ११७ रनमा अविजित रहे। यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार तथा शेर मल्लले तीन विकेट लिए।

नेपालले यसअघि पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्