एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको ‘एभरेस्ट भ्यु ट्रेल रेस’ ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ।

पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिँदै आयोजना हुँदै आएको यस साहसिक दौडले फ्रान्सको विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाबाट आधिकारिक मान्यता पाएको हो। साथै, अन्तर्राष्ट्रिय ट्रेल धावक सङ्घले यस दौडलाई ३ अङ्क प्रदान गरेको छ।

मान्यता प्राप्त दौड पूरा गरेपछि धावकहरूले दौडको दूरी र उचाइको कठिनाइका आधारमा अङ्क प्राप्त गर्छन्। यस्तो अङ्कले विश्वप्रसिद्ध अन्य ठूला अन्तर्राष्ट्रिय ट्रेल रेसमा सहभागी हुन छनोट प्रक्रियामा सहयोग पुर्‍याउने बताइएको छ।

नेपालमा आयोजना हुने मञ्जुश्री, सिन्धुपाल्चोक र रनउकुजस्ता ट्रेल रेसले पनि यस प्रकारको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेका छन्।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले खेलकुदलाई पर्यटन, प्रकृति, संस्कृति र साहसिक यात्रासँग जोड्ने अभियानले सार्थकता पाएको बताएका छन्। यसबाट स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउन थप सहज हुने गाउँपालिकाको विश्वास छ।

करिब ४८ किलोमिटर लामो यस दौडको उचाइ करिब २ हजार ९ सय १४ मिटर रहेको छ। दौड पूरा गर्न अधिकतम ७ घण्टा ४५ मिनेट समय सीमा निर्धारण गरिएको छ। भौगोलिक रूपमा चुनौतीपूर्ण मानिने यस दौडले धावकहरूको सहनशीलता र क्षमताको परीक्षा लिनेछ।

दौड समुद्री सतहबाट १ हजार ८ सय ३ मिटर उचाइमा रहेको निर्माणाधीन कोर्कु रङ्गशालाबाट सुरु भएर महभीरतर्फ अघि बढ्नेछ। महभीर नेपालकै उत्कृष्ट चट्टान आरोहण तथा डोरीको सहारामा ओर्लिने गन्तव्यका रूपमा परिचित छ।

त्यसपछि सिलगुडी हुँदै अघि बढ्दा धावकहरूले विश्वको सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजङ्घा, नुम्बुर, थामसेर्कु र मेरा पिकलगायत हिमशिखरहरूको दृश्यावलोकन गर्न पाउनेछन्।

दौडको सबैभन्दा उच्च बिन्दु ३ हजार १ सय ८१ मिटर उचाइमा रहेको कुधम उच्च शिविर हो। सो क्षेत्रमा धावकहरूले ब्लास झरनाको समेत अनुभव गर्न पाउनेछन्।

ट्रेलको मुख्य धार्मिक स्थलका रूपमा कैलाशनाथ महादेव मन्दिर रहेको छ। पौराणिक मान्यताअनुसार हलेसीबाट फर्कने क्रममा भगवान् महादेवले यहाँ विश्राम गरेको जनविश्वास छ।

कैलाशनाथ हुँदै दौड पुनः कोर्कु रङ्गशालामा पुगेर समापन हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्