राहत सामग्री सुरक्षाकर्मीले लिएको भन्ने अफवाहमा प्रहरीको आपत्ति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ- भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि राहत सामग्री सुरक्षाकर्मीले आफैँ लिएको, वितरण नगरेको र कुहिएर गएको भन्दै सामाजिक सञ्जालमा फैलाइएका सूचनाप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई लक्षित गरी फैलाइएका त्यस्ता सामग्री भ्रमपूर्ण र तथ्यहीन भएको जनाएको हो।

प्रहरीका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी खोज तथा उद्धार, राहत र पुनःस्थापनाका काममा निरन्तर खटिएका छन्।

विपद्का बेला सुरक्षाकर्मीले जोखिम मोलेर नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायत मानवीय कार्य गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले भनाइ छ।

नेपाल प्रहरीले आफूहरूसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको समेत स्पष्ट पारेको छ।

विपद्का बेला उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पर्ने तथा आमनागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने गरी कपोलकल्पित आरोप र अफवाह फैलाउनु दुःखद र गैरजिम्मेवार भएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता अफवाहले विपद् व्यवस्थापनको संवेदनशील कार्यसमेत प्रभावित पार्न सक्ने भन्दै अपुष्ट सूचना प्रसार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

‘नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मी विपद्का समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा सदैव प्रतिबद्ध छन्’, विज्ञप्तिमा भनिएको छ।

प्रहरीले विपद्को संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह तथा अपुष्ट सूचनाको प्रचार–प्रसार नगर्न सबैमा अनुरोध गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्