काठमाडौँ । अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल) मा बुधबार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई सोझो सेटमा ३–० ले पराजित गरेको हो ।
अन्नपूर्णले खेल २५–१५, २५–१५ र २९–२७ अंकले आफ्नो पक्षमा पार्यो। अन्नपूर्णका एन्ख–एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए ।
चार खेलमा अन्नपूर्णको यो तेस्रो जित हो । पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको अन्नपूर्णले त्यसपछि लगातार तीन खेल जितेको हो । उसले काठमाडौँ रेड्सलाई ३–० र मधेस वारियर्सलाई ३–१ सेटले हराएको थियो ।
खप्तड फाल्कन्सको भने चार खेलमा यो लगातार चौथो हार हो। यससँगै खप्तड प्रतियोगिताबाट बाहिरिएको छ । खप्तडले यसअघि सगरमाथा स्म्यासर्स, कर्णाली र मधेस वारियर्ससँग समान ३–० को हार व्यहोरेको थियो ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ । पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपालमा पहिलोपटक आयोजना गरिएको हो । फाइनल खेल भदौ २७ गते हुनेछ ।





