काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित हासिल गरेको छ ।
नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । बसिर अहमदले ४७ रनको योगदान दिए । नेपाल ३६ रनमा चार विकेट गुमाएर संकटमा परेको अवस्थामा दीपेन्द्र र बसिरले ९३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालले २३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ३६ रनमा चार विकेट गुमाउँदा संकटमा परेको नेपाललाई दीपेन्द्र र बसिरको साझेदारीले उकासेको थियो । नेपाल १२९ रनमा पाँच विकेटको अवस्थामा पुगे पनि त्यसपछि लगातार विकेट गुमाउँदा १४७ रनमै अलआउट भयो ।
ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर तीन विकेट लिए । हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिँदै तीन विकेट लिए । मुहम्मद इमरानले दुई तथा शकील अहमद र मुजिबुर अलीले एक–एक विकेट लिए ।
नेपालले अब उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
फाइनलमा यूएईलाई पराजित गर्न सके नेपाल एसिया कपका लागि छनोट हुनेछ । सेमिफाइनलमा ओमानलाई हराएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा समेत छनोट भएको छ ।





