अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२५ भदौ, काठमाडौं । अदालतमा मिलापत्र गरेर टुंग्याइएको भनिएको अंशसम्बन्धी विवाद तीन वर्षसम्म पनि कार्यान्वयनमा नआएपछि रौतहटको वृन्दावन नगरपालिका–३ का जितेन्द्र राय यादव पुन: कानुनी प्रक्रियामा पुगेका छन्।

चुलहाई राय यादवका दुई श्रीमतीतर्फका छोराबीच लामो समयदेखि चल्दै आएको अंश विवाद २०८० फागुन ३० गते जिल्ला अदालत रौतहटमा मिलापत्रमार्फत टुंग्याउने सहमति भएको थियो। तर सहमति कार्यान्वयन नभएको भन्दै कान्छी श्रीमती कञ्चनिया देवीका छोरा जितेन्द्रले बिहीवार कटहरियामा पत्रकार सम्मेलन गर्दै आफू तीन वर्षदेखि समस्यामा परेको बताएका छन्।

जितेन्द्रका अनुसार परिवारसँग पुस्तैनी रूपमा करिब ६ बिघा जग्गा रहेकोमा बुबा जीवित छँदै केही जग्गा बिक्री भइसकेको थियो। हाल करिब साढे चार बिघा जग्गा बाँकी रहेको उनको दाबी छ।

अंशसम्बन्धी विवाद चर्किएपछि जितेन्द्रले २०८० असोजमा जिल्ला अदालत रौतहटमा मुद्दा दायर गर्दै पारिवारिक जग्गा रोक्का गराएका थिए। मुद्दाको समन दाजुको घरमा पुगेपछि गाउँमै छलफल गरेर विवाद समाधान गर्ने प्रयास गरिएको उनले बताए।

छलफलमा जेठी आमा लखिया देवीलाई २२ कठ्ठा, जितेन्द्रलाई ३४ कठ्ठा ५ धुर र जेठा छोरा रामेश्वर राय यादवलाई ४४ कठ्ठा १५ धुर जग्गा दिने सहमति भएको उनको भनाइ छ। रामेश्वर पूर्ववडाध्यक्षसमेत हुन्।

त्यसैगरी सगोलमा रहँदा दाजुको नाममा लागेको कर्जाबापत करिब १ बिघा ७ कठ्ठा जग्गा दाजुको भागमा दिने सहमति भएको र सोही आधारमा अदालतमा मिलापत्र गरिएको जितेन्द्रले बताए।

तर मिलापत्र भएको लामो समय बितिसक्दा पनि जग्गा फुकुवा नभएको उनको गुनासो छ। उनका अनुसार दाजुले कृषि विकास बैंक चन्द्रपुरबाट ४५ लाख रुपैयाँ तथा एनआईसी बैंक चन्द्रपुरबाट १५ लाख रुपैयाँ ऋण लिएको विषयसमेत विवादसँग जोडिएको छ।

ऋण र जग्गा फुकुवाको विषय तीन महिनाभित्र टुंग्याउने सहमति भएको र त्यसका लागि दुवै दाजुभाइले सादा चेकमा हस्ताक्षर गरी वडा नम्बर ४ का अध्यक्ष श्यामनन्दन यादवको जिम्मामा ग्यारेन्टीका रूपमा दिएको जितेन्द्रले दाबी गरेका छन्।

तर तीन महिनाभित्र समाधान हुने भनिएको विषय तीन वर्षसम्म पनि टुंगिन नसकेपछि आफू थप आर्थिक तथा मानसिक समस्यामा परेको उनले बताए। 
अन्तत: २०८३ जेठ १५ गते जिल्ला अदालत रौतहटमा जग्गा फुकुवाको माग गर्दै उजुरी दिएको र त्यसमा फैसला आउन बाँकी रहेको उनको भनाइ छ।

विवाद अदालतदेखि धम्कीको आरोपसम्म

जितेन्द्रले वडा अध्यक्ष श्यामनन्दन यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको आरोप लगाउँदै २०८३ जेठ २३ गते उच्च अदालतमा परमादेशको मागसहित निवेदन दिएको पनि बताएका छन्। उक्त विषयसमेत विचाराधीन रहेको उनले जानकारी दिए।

विवादको अर्को पाटोका रूपमा जितेन्द्रले सगोलमा रहँदा दाजुले चन्द्रपुरतर्फको करिब १० धुर जग्गा बिक्री गरेको आरोप लगाएका छन्। उक्त जग्गा बिक्रीको विषयले पनि अंश विवाद थप जटिल बनेको उनको दाबी छ।

पत्रकार सम्मेलनमा उनले केही समयअघि दाजु घरमै आएर आफूलाई कुटपिट तथा घाँटी थिचेको आरोपसमेत लगाए। वडाध्यक्ष श्यामनन्दन यादवबाट धम्की आएको दाबी पनि उनले गरेका छन्।

अदालत, बैंक र प्रशासनिक निकायमा लामो समयदेखि धाउँदा अहिलेसम्म ७–८ लाख रुपैयाँ खर्च भइसकेको जितेन्द्रले बताए। कान्छी आमा कञ्चनिया देवीको २०६८ सालमा र बुबा चुलहाई राय यादवको २०७७ सालमा मृत्यु भएको थियो।

अदालतको मिलापत्रले पारिवारिक विवाद समाधानको कानुनी बाटो खोले पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुँदा विवाद पुन: लम्बिएको देखिन्छ। जग्गा रोक्का, बैंक ऋण, चेकको जिम्मेवारी र अदालतमा विचाराधीन मुद्दा एक–अर्कासँग जोडिँदा अंश विवाद थप जटिल बनेको छ।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्