काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेको छ।
बिहीबार कुल ३४५ कम्पनीका १ करोड २० लाख ८६ हजार ९३२ कित्ता सेयर किनबेच भएका छन्। बजारमा ४ अर्ब ३५ करोड ९१ लाख ३० हजार ४६१ रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबारको कारोबारमा बजार फराकिलो अन्तरले सकारात्मक देखिएको छ। कुल २३७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज सबै समूहगत सूचक हरियो देखिएका छन्। विकास बैंक, हाइड्रोपावर, लगानी, निर्जीवन बीमा र ट्रेडिङ समूहमा एक प्रतिशतभन्दा बढी वृद्धि भएको छ।
मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य ५.७१ प्रतिशतले घटेको छ, जुन बिहीबारको सर्वाधिक गिरावट हो।
बजारमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य १०.५३ प्रतिशतले बढेको छ। त्यस्तै, अभियान लघुवित्तको १०.०९ प्रतिशतले वृद्धि भएको छ। सिन्धु विकास बैंक, सालपा विकास बैंक र एनसीसी डिबेन्चरका लगानीकर्ताले पनि राम्रो कमाएका छन्।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ५० लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको १४ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।





