काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा अवरोध कायमै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ साउन ।  काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा अवरोध कायमै छ ।

आज बिहीवार बिहान स्थानीयले फोहरको दुर्गन्ध कम गर्ने औषधि छर्कर्ने र फोहरलाई माटोले पुर्ने काम गरेपछि फोहर बोकेका गाडी बञ्चरेडाँडा जान दिने बताएका थिए ।

स्थानीयको मागअनुसार काठमाण्डौ महानगरपालिकाले काम थाले पनि अहिले फेरि उनीहरूले पुराना माग पूरा नभएसम्म गाडी जान नदिने अडान लिएका छन् ।

शहरी विकास मन्त्रालयसँग हिजो बुधवार नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीकाे छलफलमा मौखिक सहमति भए पनि स्थानीयको अवरोधकै कारण आज पनि फोहर बोकेका गाडी ल्यान्डफिल्ड साइट जान सकेका छैनन् । मन्त्रालयसँगको सहमतिअनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम भइरहेको छ ।

फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीवेशीका स्थानीयले पटक–पटक आन्दोलन गर्दै आएका छन् । यसअघि पनि महानगरपालिका र शहरी विकास मन्त्रालयसँग दुर्गन्ध हटाई फोहर छोप्ने सहमति भएको थियो । तर त्यो कार्यान्वयन नभएको भन्दै स्थानीयले आन्दोलन गरिरहेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्