कोरिया गएर फर्किएकालाई खुल्यो इपिएस भाषा परीक्षाको आवेदन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, ५ साउन । कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ।

पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ।

‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो,’ शाखाले सूचना प्रकाशित गरेर भनेको छ।

इच्छुक नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने शाखाले बताएको छ।

त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रूपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्ने छ।

कोरियामा इ–९ र ३–९–१ भिसामा पाँच वर्ष भन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधान विभाग बाट इपिएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फारम पर्न पाउने पनि शाखाले जानकारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्