निर्वाचनपूर्व गठबन्धनदेखि राजनीतिक संरक्षणसम्म रोक्ने कांग्रेसको १७ बुँदे मर्यादा : गगन थापा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनमार्फत आन्तरिक संगठन र सार्वजनिक जीवनमा सुधार ल्याउने उद्देश्यसहित ‘के गर्नेछौँ र के गर्नेछैनौँ’ भन्ने विषयमा १७ वटा स्पष्ट क्षेत्र तोकेर नयाँ राजनीतिक मर्यादा सार्वजनिक गरेको छ।

सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेटिएको यस आचारसंहिताले विगतका गलत राजनीतिक अभ्यास त्याग्दै पार्टीलाई नागरिकप्रति जवाफदेही, पारदर्शी र लोकतान्त्रिक मूल्यमान्यतामा अडिग राख्ने लक्ष्य लिएको छ।

पहिलो सूचीमा रहेको ‘लोकतान्त्रिक मूल्य’ अन्तर्गत कांग्रेसले मानव अधिकार, नागरिक स्वतन्त्रता र संवैधानिक मर्यादामा दृढतापूर्वक उभिने जनाएको छ। सत्ता, सुविधा वा तात्कालिक लाभका लागि मूल मूल्यमा सम्झौता नगर्ने पनि स्पष्ट पारिएको छ।

दोस्रो, ‘राजनीतिक सहकार्य’ अन्तर्गत स्पष्ट सार्वजनिक उद्देश्य र नीतिगत आधारमा मात्र अन्य दलसँग सहकार्य गर्ने उल्लेख छ। पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्यको नाम नदिने प्रतिबद्धता कांग्रेसले जनाएको छ।

तेस्रो, ‘निर्वाचन र जनविश्वास’ अन्तर्गत निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्ने नीति अघि सारिएको छ। मतको अंकगणितका लागि पार्टीको मौलिक पहिचान दाउमा नलगाउने कांग्रेसले जनाएको छ।

चौथो, ‘सार्वजनिक संवाद’ मा तथ्य, तर्क, विकल्प र कामका आधारमा स्वस्थ बहस चलाउने तर घृणा, गालीगलौज, अपमान, समग्र निन्दा, निराशा वा सस्तो लोकप्रियतालाई राजनीतिक विधि नबनाउने उल्लेख छ।

पाँचौँ, ‘राज्यका संस्था’ अन्तर्गत अदालत, संवैधानिक निकाय, विश्वविद्यालय र निजामती प्रशासनको स्वतन्त्रता तथा क्षमता बलियो बनाउने कांग्रेसले जनाएको छ। ती संस्थालाई दलीय भागबन्डा र राजनीतिक हस्तक्षेपको थलो नबनाउने पनि स्पष्ट पारिएको छ।

छैटौँ, ‘सार्वजनिक नियुक्ति’ मा समावेशितासहित योग्यता, क्षमता र इमानदारीलाई मुख्य आधार बनाउने तथा संवैधानिक पदमा दुई वर्षको ‘कुलिङ अफ’ अवधि लागू गर्ने नीति अघि सारिएको छ। दलगत निकटता, पारिवारिक सम्बन्ध वा दबाबका आधारमा नियुक्ति नगर्ने कांग्रेसले जनाएको छ।

सातौँ, ‘सार्वजनिक स्रोत’ नागरिक निगरानीसहित सार्वजनिक हितका लागि मात्र प्रयोग गर्ने र दल, गुट वा व्यक्तिको लाभका लागि त्यसको दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाइएको छ।

आठौँ, ‘नीतिगत सदाचार’ अन्तर्गत स्वार्थको द्वन्द्व, बिचौलियाको प्रभाव र नीतिगत भ्रष्टाचार नियन्त्रण गर्ने उल्लेख छ। नीतिगत निर्णयको बहानामा कसैलाई अनुचित लाभ दिन वा छानबिनबाट उम्काउन नदिने कांग्रेसले जनाएको छ।

नवौँ, ‘भ्रष्टाचार र न्याय’ अन्तर्गत जुनसुकै स्तरका नेता वा कार्यकर्तामाथि लागेको आरोपमा निष्पक्ष अनुसन्धान हुन दिने तथा आफ्नै पक्षका व्यक्तिमाथि पनि समान कानुन लागू गर्ने स्पष्ट पारिएको छ। पार्टीगत बचाउ, राजनीतिक संरक्षण वा अनुसन्धानमा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाइएको छ।

दशौँ, ‘समावेशी अवसर’ अन्तर्गत महिला, युवा तथा वञ्चितीकरणमा परेका समुदायको नीति र नेतृत्वमा वास्तविक प्रभाव बढाउने नीति अघि सारिएको छ। प्रतिनिधित्वलाई केवल संख्या वा औपचारिकतामा सीमित नगर्ने कांग्रेसले जनाएको छ।

एघारौँ, ‘सदस्यको अधिकार’ अन्तर्गत नीति, नेतृत्व र उम्मेदवार छनोटमा पार्टी सदस्यको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उल्लेख छ। सदस्यलाई निर्देशन पालना र निर्वाचनमा भोट खसाल्ने भूमिकामा मात्र सीमित नराख्ने कांग्रेसले जनाएको छ।

बाह्रौँ, ‘उम्मेदवार र जिम्मेवारी’ अन्तर्गत प्राथमिक निर्वाचन (प्राइमरी), योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई उम्मेदवार छनोटको आधार बनाइनेछ। पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई योगदानको विकल्प बन्न नदिने नीति लिइएको छ।

तेह्रौँ, ‘पार्टीको परिवार’ अन्तर्गत आन्दोलनका घाइते, सहिद र योगदानकर्ताको सम्मान गर्दै समान अवसरको संस्कृति बसाल्ने उल्लेख छ। पार्टीका पदलाई पारिवारिक उत्तराधिकार वा आफ्ना मान्छे सुरक्षित गर्ने माध्यम नबनाउने प्रतिबद्धता जनाइएको छ।

चौधौँ, ‘असहमति र अनुशासन’ अन्तर्गत आलोचना सुन्ने, निष्पक्ष सुनुवाइ गर्ने र गल्ती सच्याउने संस्कार विकास गर्ने कांग्रेसले जनाएको छ। आलोचना वा असहमतिलाई अनुशासनहीनता ठानेर आलोचकलाई शत्रुवत व्यवहार नगर्ने उल्लेख छ।

पन्ध्रौँ, ‘अधिवेशन र सदस्यता’ अन्तर्गत नियमित अधिवेशन, विश्वसनीय अभिलेख र स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्ने नीति लिइएको छ। महाधिवेशन सार्न वा निर्वाचन परिणाम प्रभावित पार्न अन्तिम समयमा सदस्यता वितरणका नियम नबदल्ने कांग्रेसले जनाएको छ।

सोह्रौँ, ‘पार्टीको वित्त’ अन्तर्गत सहयोगका सबै स्रोत, आय–व्यय र लेखापरीक्षण सार्वजनिक गर्ने उल्लेख छ। आर्थिक सहयोगको बदलामा निर्णय, ठेक्का वा नियुक्तिबाट अनुचित लाभ नदिने मर्यादा तोकिएको छ।

अन्तिम तथा सत्रौँ, ‘काम र मूल्याङ्कन’ अन्तर्गत समुदायमा गरेको काम, सार्वजनिक उत्तरदायित्व र परिणामलाई मूल्याङ्कनको मुख्य आधार बनाइनेछ। सस्तो प्रचार, व्यक्तिगत छवि वा गुटको सेवा गरेर वास्तविक योगदानलाई ओझेलमा पार्ने प्रवृत्तिलाई अस्वीकार गरिने कांग्रेसको राजनीतिक मर्यादामा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी