नेप्सेमा २० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार २०.४८ अंकले घटेर २ हजार ५६६.७६ अंकमा झरेको छ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से सूचक ११ अंकले घटेको थियो। सोमबार कारोबार सुरु भएदेखि नै निरन्तर घटेको नेप्से बजार बन्द हुँदासम्म सोही अवस्थामा रह्यो।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। सोमबार नेप्सेमा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। शुक्रबार भने ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेपाल धितोपत्र बोर्डले ५ प्रतिशतभन्दा धेरै सेयर भएका संस्थापक लगानीकर्ताले जानकारी गराएर मात्र सेयर बिक्री गर्न पाउने व्यवस्था गरेपछि बजार प्रभावित भएको देखिएको छ। केही दिनअघि बोर्डले लकइन अवधि सकिएपछि विभिन्न क्षेत्रका कम्पनीका संस्थापकले सेयर बिक्री गरेर बाहिरिने क्रम बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न पूर्वस्वीकृतिको व्यवस्था गरेको थियो।

उक्त व्यवस्थाले लगानीकर्ताको मनोबल कमजोर बनाएको बजारका सरोकारवालाले बताएका छन्। बोर्डको उक्त व्यवस्थामाथि पुनर्विचार गर्न प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पनि बोर्डलाई निर्देशन दिएको छ। तर, सोमबारको बजारले लगानीकर्ताको मनोबल फर्किएको संकेत भने दिएको छैन।

लाभांशको सिजन भएकाले सेयर मूल्य समायोजनका कारण पनि बजार सूचक नकारात्मक हुन योगदान गरेको बताइएको छ।

सोमबार नेप्सेमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको सेयर मूल्य घटेको छ। चार कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेका छन्। बैंकिङ १०.७३, विकास बैंक २९.१६, वित्त २४.३६, होटल ७३.२८, जलविद्युत् ३६.९५, लगानी १.०१, जीवन बीमा ९३.८१, उत्पादनमूलक १०४.५१, लघुवित्त २७.२४, निर्जीवन बीमा ६०.९९ र अन्य समूह १६.६७ अंकले घटेका छन्।

तर, व्यापार समूह भने १०.७१ अंकले बढेको छ।

सोमबार नेप्सेमा ३५९ कम्पनीका ४४ हजार ७७७ कारोबारबाट ९० लाख कित्ता सेयर खरिद–बिक्री भएका छन्। कुल कारोबार रकम ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी