संवेदनशील अंग छोएको आरोपमा सीएमए प्रहरी हिरासतमा, जबरजस्ती करणीको जाहेरी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि आएकी २२ वर्षीया युवतीको संवेदनशील अंगमा छोएको आरोपमा कुटिएका स्वास्थ्यकर्मी (सीएमए) गणेशबहादुर थापा प्रहरी हिरासतमा पुगेका छन्। उनीमाथि जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी परेको छ।

यही असोज १७ गते शनिबार उपचारका लागि पोलिक्लिनिक पुगेकी युवती रकम तिरेर सहज रूपमा फर्किएकी थिइन्। तर, करिब आधा घन्टापछि उनी अभिभावक र केही मिडियाकर्मीसहित पुनः पोलिक्लिनिक पुगेकी थिइन्। युवतीसँगै गएकी एक महिलाले स्वास्थ्यकर्मीले बिरामीको गोप्य अंगमा छोएको भन्दै झापड हानेको भिडियोसमेत सार्वजनिक भएको छ।

झापड हान्ने महिला पीडित भनिएकी युवतीकी रोजगारदाता हुन्। उनले चार वर्षअघि आफूलाई पनि ती स्वास्थ्यकर्मीले यसैगरी दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

पिटाइ खाने स्वास्थ्यकर्मीलाई डाक्टर भनिए पनि उनी डाक्टर नभई सीएमए गरेका व्यक्ति हुन्।

पेट दुख्ने र सेतो पानी बग्ने समस्या भएपछि उपचारका लागि पुगेकी युवतीलाई स्वास्थ्यकर्मीले जबर्जस्ती सुरुवाल खोलेर गोप्य अंगमा हात लगाएको दाबी गरिएको छ। स्थानीय निर्मल आचार्यका अनुसार सो पोलिक्लिनिकमा अन्य डाक्टरहरू पनि आउने बोर्ड राखिएको र उनीहरूले पनि बिरामी जाँच्ने गरेको देखिए पनि शनिबार भने सञ्चालक थापा अन्य स्टाफसँगै त्यहाँ थिए।

‘धेरै वर्ष पहिलेदेखि त्यहाँ पोलिक्लिनिक चलाउँदै आएका छन्। सीएमए मात्रै भए पनि अनुभवी भएकाले बिरामी हेर्ने गरेका थिए। अरू डाक्टर पनि आउँथे। सायद शनिबार भएर हो कि त्यो दिन आफैँले हेरेका रहेछन्,’ उनले भने।

आचार्यले ती स्वास्थ्यकर्मीबारे यसअघि यस्तो विवाद सुन्नमा नआएको पनि बताए।

उनले भने, ‘बाहिर बढी हल्ला भयो कि भन्ने लागेको छ। स्वास्थ्यकर्मी र बिरामीलाई राखेर त्यहाँको सीसीटीभी फुटेज हेरे सबै पत्ता लागिहाल्छ।’

पिटाइ खाने ६३ वर्षीय स्वास्थ्यकर्मीले भने बिरामीले सेतो पानी बग्ने, गानोगोला भएको र तल्लो पेट दुखेको बताएपछि निजकै आग्रहमा जाँच गरेको बताएका छन्। आफूले गलत नियतले नछोएको उनको भनाइ छ।

बिरामीका आफन्तले ‘गानोगोला चल्दा किन गोप्य अंगमा हात लगाएको ? कसले दियो यो अधिकार ? बालिका र महिलालाई किन हेपेको ?’ भन्दै उनीमाथि आक्रोश पोखेका थिए।

‘आइन्दा यस्तो गर्ने कि नाई ? पेट दुख्दा तलको अंगमा किन हात लगाएको ? तिम्रो छोरीबहिनी छैनन् ? कपडा किन खोलेको ? किन हात लगाएको ?’ भन्दै पटक–पटक थप्पड हानिएको थियो।

प्रहरीले पिटाइ खाएका स्वास्थ्यकर्मी थापालाई असोज १७ गते नै नियन्त्रणमा लिएको थियो। असोज १८ गते पीडित पक्षबाट जाहेरी लिएर करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बाँके प्रहरीका सूचना अधिकारी प्रतितसिंह राठौरले कोहलपुर नगरपालिका–११, रेडक्रसरोडस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी युवतीको गोप्य अंग चलाएको सम्बन्धमा सार्वजनिक भएको भिडियोका आधारमा पीडितबाट जबर्जस्ती करणीको जाहेरी आएको बताए।

उक्त जाहेरीमा थापा मेडिकलका सञ्चालक उपचारको इजाजत प्राप्त नभएको र नेपाल मेडिकल काउन्सिलको ‘कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट २०१७’ मा भएको व्यवस्थाविपरीत सीएमए प्रमाणपत्र मात्र गरेको उल्लेख रहेको प्रहरीले जनाएको छ।

प्रहरीले जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

बाँके स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले सामाजिक सञ्जालमा आएको विषय आफूले देखेको तर दुई दिनदेखि प्रदेश राजधानीमा कार्यक्रम रहेकाले थप विषय बुझ्न नपाएको बताइन्।

अधि

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी